काठमाडौं । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार पहिलो खेलमा फ्रेण्डस क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दा अर्को खेलमा चर्च ब्वाईज युनाइटेडले शानदार जित हात पारेको छ ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा फ्रेण्डस र जावलाखेलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा जावलाखेलका लागि बिकास दर्लामीले गोल गर्दा फ्रेण्डसका लागि प्रशान्त लक्षमले गोल गरेका थिए ।
यो नतिजापछि ११ खेलबाट १४ अंक जोडेको जावलाखेल लिगतालिकाको आठौं स्थानमा छ । उता फ्रेण्डस भने १३ अंकका साथ लिगतालिकाको ११औं स्थानमा छ ।
बुधबार नै भएको दोस्रो खेलमा चर्च ब्वाईजले संकटा फुटबल क्लबलाई ५–२ को अन्तरले हरायो । चर्च ब्वाईजको जितमा सुमित श्रेष्ठले दुई गोल गर्दा मिलन राई र रोहन कार्कीले समान एक–एक गोल गरे । थप एक गोल भने विपक्षी टोली संकटाका बिबेक मगरले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए । उता संकटाका लागि भने रिचार्ड र बिबेक राईले गोल गरेका थिए ।
यो जितपछि ११ खेलबाट २५ अंक जोडेको चर्च ब्वाईज शिर्षता कै होडमा छ । र, शिर्ष स्थानको मच्छिन्द्रसँग समान अंक भए तापनि गोलभिन्नताले पछि पर्दै दोस्रो स्थानमा छ । पराजित संकटा भने १३ अंकका साथ लिगतालिकाको दशौं स्थानमा छ ।
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)
- रकम हिनामिनाको आरोपमा पूर्व एन्फा अध्यक्ष शेर्पा पक्राउ (पत्रसहित)
- फिफाको निलम्बनले नेपाली फुटबलमा गम्भीर असरः के गर्न मिल्छ, के मिल्दैन ?