News एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
गोलनेपाल

काठमाडौं । ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा हाजिरी जमानीमा रिहा भएका छन् ।

न्यायाधिश बालकृष्ण वाग्लेको एकल इजलासबाट काठमाडौं जिल्ला अदालतले शेर्पालाई आवश्यक बयान पछि हाजिरी जमानीमा रिहा गरेको हो । शेर्पालाई निरन्तर हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आवश्यक नदेखिएकाले उनलाई रिहाई गरिएको अदालतले जनाएको छ ।

स्मरण रहोस, शेर्पालाई गत शुक्रबार नेपाल पुलिसको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको थियो । शेर्पा विरुद्ध टुङ्गरम इन्टरनेशनल एकेडेमी प्रा.लि.का रामचन्द्र बहाला श्रेष्ठले ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ मुद्दामा उजुरी दिएपछि शेर्पालाई सिआइबीले पक्राउ गरेको थियो ।

शेर्पाविरुद्धको विवाद टुङ्गरमसँग सम्बन्धित शेयर बाँडफाँट, खरिद–बिक्री, जग्गा बिक्री र आर्थिक कारोबारसँग जोडिएको छ । सोही विषयमा यसअघि पनि सिआईबीले अनुसन्धान गरिसकेको थियो ।

हाल जिल्ला अदालतले अहिले परेको जाहेरीमा अघिल्लो अनुसन्धानभन्दा फरक कुनै नयाँ तथ्य वा प्रमाण नदेखिएको उल्लेख गरेको छ । एउटै विषयमा कुनै नयाँ आधार बिना पटक–पटक हिरासतमा राख्नुपर्ने अवस्था नरहेको अदालतको ठम्याई छ ।

यद्यपि अदालतले हाजिरी जमानीमा शेर्पालाई रिहा गर्न आदेश दिए तापनि यसबारे आवश्यक अनुसन्धान जारी राख्न भने प्रहरीलाई निर्देशन दिएको छ ।

 

Post Comments