News पिप्लेको सहज, हटिया, पदमपोखरी र न्यु कम्बाईनलाई पनि सफलता
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत पिप्ले युवा क्लबले सहज जित हातपार्दा हटिया स्पोर्टस, पदमपोखरी युवा क्लब र न्यु कम्बाईन क्लबले पनि जित दर्ता गरेका छन् ।

सहज जित निकाल्ने क्रममा पिप्लेले हेटौडा फुटबल एकेडेमीलाई ५–१ ले हरायो भने हटियाले सानो पोखरामाथि शून्यका विरुद्ध १ गोलको झिनो अन्तरको जित दर्ता गर्यो ।

त्यस्तै पदमपोखरीले सात नम्बर फुटबल क्लबलाई २–० ले हराउँदा न्यु कम्बाईन क्लबले मल्टिभिजन माथि समान २–० को जित निकाल्न सफल भयो । त्यस्तै न्यु डाँफे युवा क्लब र गोर्खा ब्वाईजले भने १–१ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडे ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी लिग विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । कुल २८ टोलीहरुको सहभागिता रहेको लिगको समापन असोज ९ गतेका दिन हुनेछ ।

Post Comments