पालुङ । चित्लाङ फुटबल क्लब र कुर्दन फुटबल एकेडेमी मकवानपुरमा जारी छैटौं थाहा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा चित्लाङले शिखर क्लबलाई २–१ ले हराउँदै फाइनल स्थान पक्का गर्यो । चित्लाङको जितमा मन कुमार वाईबा र सन्तोष गोङबाले गोल गरे । उता पराजित शिखरका लागि भने प्रशान्त रजकले गोल गरेका थिए । खेलमा चित्लाङका सन्तोष गोङबा प्लेयर अफ द म्याच बने ।
त्यस्तै शुक्रबार नै भएको दोस्रो सेमिफाइनलतर्फ कुर्दन एफएले पाखुरे युवा क्लबलाई ३–० को अन्तरले हराउँदै उपाधि नजिक पुग्यो । कुर्दनको जितमा सुजित बुढाथोकी, दावा नोर्बु शेर्पा र अविरल रिजालले गोल गरे । खेलमा कुर्दन कै अविरल रिजाल प्लेयर अफ द म्याच चुनिए ।
अब यही असार ६ गते शनिबार हुने फाइनलमा चित्लाङ फुटबल क्लब र कुर्दन फुटबल एकेडेमी उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दियो ।
थाहा नगरपालिका, मकवानपुरको आयोजना तथा शिखर क्लब, शिखरकोटको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।