News फेरि शिर्षता मै बागमती, महाबिर र सामाजिकको बराबरी
गोलनेपाल

काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ दशौं चरणको खेलहरु जारी रहँदा उत्कृष्ट लयमा देखिएको बागमती युवा क्लबले दश खेलाडीमा खुम्चिएर पनि महत्वपूर्ण जित निकाल्दै शिर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार भएको खेलमा बागमतीले समाज कल्याण खेलकुद केन्द्रलाई २–१ ले हरायो । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीका लागि राज भुषाल र सिर्जनराज गौतमले गोल गरे । पराजित समाज कल्याणका लागि रोशन क्षेत्रीले गोल फर्काएका थिए ।

खेलको दोस्रो हाफमा बागमतीका आयुष रानाले दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिए तापनि बागमतीको जितमा त्यसले असर पारेन । यो जितपछि १० खेलबाट २३ अंक जोडेको बागमती शिर्ष स्थानमा उक्लेको छ । उता पराजित समाज कल्याण १६ अंकका साथ चौथो स्थानमा छ ।

त्यस्तै मंगलबार नै सम्पन्न अर्को खेलमा महाबिर क्लब र सामाजिक युवा क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । महाबिरका लागि अमन राजवाहकले गोल गरे भने सामाजिकका लागि सुवास गोलेले गोल गरेका थिए ।

यो नतिजापछि १० खेलबाट १३ अंक जोडेको सामाजिक लिगतालिकाको आठौं स्थानमा छ । उता महाबिर भने १० अंकका साथ लिगतालिकाको ११औं स्थानमा छ ।

 

Post Comments