News मदन मेलाः फेदाप र नागेश्वरी होडा विजयी
रमेश समदर्शी

संक्रान्ति बजार (तेह्रथुम) । स्थानीय त्रि(मोहन माविको खेल मैदानमा जारी ऐतिहासिक मदन मेला २०८१ को अवसरमा आयोजित पुरुषतर्फ मंगलबार भएको खेलबाट फेदाप र नागेश्वरी होडा छातेले जीत निकालेका छन् ।

आज भएको पहिलो खेलमा फेदाप ५ इसिबुले केलिङ आधारभूत विद्यालय इवालाई २-१ गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

फेदापका लागि खेलको २६औँ मिनेटमा रेमन सुब्बाले आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, केलिङका सुनिल लिम्बूले खेलको ४०औँ मिनेटमा गोल गर्दै बराबरीमा ल्याए ।

तर, केलिङको बराबरी गोल धेरै समय टिक्न सकेन । ४२औँ मिनेटमा फेदापका कप्तान लियम सुब्बाले अग्रता दोब्बर बनाउँदै टिमको जित सुनिश्चित गरे ।

यस्तै, दोस्रो खेलमा नागेश्वरी होडा छातेले नव कोपिला क्लब खाम्लालुङको चुनौती समाप्त गर्यो । नव कोपिलाविरुद्ध छातेले २-० गोलअन्तरको स्पष्ट जित निकालेको हो ।

छातेका लागि खेलको १३औँ मिनेटमा उपेन्द्र देवानले सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३९औँ मिनेटमा रोशन देवानले गोल गर्दै अग्रता दोब्बर बनाए ।

बुधबार ६ वटा खेल हुने आयोजकले जनाएको छ । २०१५ सालदेखि लाग्दै आएको मदन मेलामा पुरुषतर्फ २७ टोली र महिलातर्फ ६ टोली सहभागी रहेका छन् ।

Post Comments