
काठमाडौं । आर्थिक वर्ष २०८२–८३ का लागि युवा तथा खेलकुद मन्त्रालयले पाउने वार्षिक बजेटमा अहिलेसम्म कै सबैभन्दा बढी बजेट बिनियोजन गरिएको छ ।
बिहीबार अर्थमन्त्री बिष्णु पौडेलले सार्वजनिक गरेको नयाँ बजेटमा खेलकुदलाई ६ अर्ब ८ करोड रुपैयाँ बजेट परेको हो । जुन खेलकुदमा हालसम्म कै सबैभन्दा धेरै बजेट समेत हो ।
यसअघि वि.सं. २०८१–८२ को बजेटमा खेलकुद क्षेत्रलाई ३ अर्ब ५० करोड ४७ लाख ८१ हजार रुपैयाँ बिनियोजन गरिएको थियो । यो बजेटभन्दा बिहीबार बिनियोजन गरिएको बजेट २ अर्ब ५८ लाख रुपैयाँले बढी समेत हो ।
२०८२–८३ का लागि बिनियोजन गरिएको बजेटबाट मुख्य रुपमा विनियोजन गरिएका रकमहरुमा सुर्खेतमा हुने राष्ट्रिय खेलकुदका लागि ५४ करोड छुट्याइएको छ । टियु क्रिकेट मैदान स्तरोन्नतीका लागि ४० करोड छुट्याइएको छ । त्यसबाहेक अन्य विभिन्न रंगशालाहरुको स्तरोन्नती र निर्माणका लागि ४२ करोड छुट्याइएको छ ।
त्यस्तै झापामा सबै खेलहरु आयोजना गर्न सकिने अन्तर्राष्ट्रियस्तरको आधुनिक रंगशाला निर्माण गरिने, सोलुखुम्बु, मुस्ताङ, मनाङ जस्ता हिमाली क्षेत्रमा हाई अल्टिच्युड स्टेडियम निर्माण गरिने खेलकुद बजेटको मुख्य बुँदामा उल्लेख छ ।