News दमकडा ब्रदर्श फाइनलमा, उपाधिका लागि भगवतीसँग भिड्ने
सुरज राना मगर

तानसेन । उत्कृष्ट जितका साथ दमकडा ब्रदर्श फुटबल क्लब यहाँ जारी तेस्रो न्यु युथ युनियन कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा दमकडाले मनोभाव फुटबल क्लबलाई ५–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । टुंडिखेल मैदानमा भएको खेलमा दमकडाका लागि आशिष रानाले ह्याट्रिक गर्दा प्रदिप थापा र आकाश रानाले एक–एक गोल गरे । उता पराजित मनोभावका लागि भने रोशन थापाले एक मात्र गोल फर्काएका थिए ।

खेलमा ह्याट्रिक गरेका दमकडाका आशिष राना म्यान अफ दि म्याच चुनिए । दमकडाले अब जेठ १७ गते हुने फाइनलमा भगवती युवा क्लबसँग उपाधिका लागि भिड्ने प्रचार प्रसार संयोजक अमृत केसीले जानकारी दिए ।

न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । 

Post Comments