ANFA सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग असार १४ देखि
गोलनेपाल

चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबल असार १४ गतेदेखि हुने भएको छ । आयोजक चितवन जिल्ला फुटबल संघले असार १४ देखि लिग गर्ने निर्णय गरेको हो ।

लिगमा सहभागी हुने १३ टिमको समूह विभाजन गरिएको छ । सेन्ट्रल टावरमा आज (आइतबार) एक कार्यक्रमकाबीच समूह विभाजन गरिएको हो । जस अनुसार सहभागी १३ टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा साविक विजेता हनामी भरतपुर फुटबल क्लब (बिएफसी) सँगै नारायणी फुटबल क्लब, एस्ट्रल युथ सोसाईटी, गीतानगर ब्वाईज क्लब, नारायणी मोटर्स युनिक क्लब, पानस युवा क्लब र सौराहा युवा समाज रहेका छन् ।

समूह बी मा साविक उपविजेता एभरेष्ट क्लब चितवन, माडी ११ फुटबल क्लब, रामपुर फुटबल क्लब रड्स, यात्रा ग्रुप भरतपुर, नारायणगढ फुटबल क्लब र हर्दी युवा समाज रहेका छन् । लिगको उद्घाटन खेलमा साविक विजेता बिएफसी र नारायणी एफसी भिड्नेछन् ।

लिगका खेलहरु भरतपुर ७ कृष्णपुर मैदान र नेपाली प्रहरी शिक्षालय (तालिम केन्द्र) को मैदानमा हुने चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले जान्कारी दिए । उद्घाटन खेल कृष्णपुरमा हुनेछ ।

साउन ८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले दश हजार, विधागत उत्कृष्टले पाँच तथा म्यान अफ दि म्याचले दुई हजार पाँच सय प्राप्त गर्ने संयोजक गोपाल गुरुङले जानकारी दिए । लिगको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।

Post Comments