
कोहलपुर । काक्रेबिहार फुटबल क्लब, सुर्खेत जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा काक्रेबिहारले अफ्रिकन फुटबल क्लब, घानालाई सडन डेथमा हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।
टाईब्रेकरमा पनि नतिजा निस्किन नसक्दा सडन डेथमा काक्रेबिहार सफल बनेको हो । खेलमा काक्रेबिहारका गोलरक्षक तिलक खड्का प्लेयर अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तर्गत फागुन २१ गते बुधबारको पहिलो सेमिफाइनल खेल प्लानिङ ब्वाईज युनाइटेड क्लब, काठमाडौं र आयोजक कोहलपुर रेसिङ्ग सहारा फुटबल क्लब, कोहलपुरबीच हुने आयोजकले जानकारी दियो ।
कोहलपुर रेसिङ सहारा फुटबल क्लब, कोहलपुर, बाँकेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन २४ गतेका दिन हुनेछ ।