
कोहलपुर । यहाँ सम्पन्न तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि राइजिङ स्टार फुटबल क्लब, नवलपरासीले जितेको छ ।
शनिबार सम्पन्न फाइनलमा राइजिङ स्टारले आयोजक कोहलपुर रेसिङ सहारा फुटबल क्लब, बाँकेलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो । राइजिङका लागि दुवै गोल बिनोद केवटले गरे । उनी फाइनल खेलको प्लेयर अफ दि म्याच पनि बने र नगद ५ हजारसहित ट्रफी हात पारे ।
विजेता बनेको राइजिङ स्टारले उपाधिसहित नगद ८ लाख हात पार्दा उपविजेता कोहलपुर रेसिङ सहारा एफसीले ४ लाखसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो । कोहलपुर रेसिङका बिनोद केसी प्रतियोगिता कै सर्वश्रेष्ठ खेलाडी बने । उनले पुरस्कार वापत नगद ५१ हजार र ट्रफी हात पारे ।
अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक राइजिङका प्रतिक सुनार बन्दा उत्कृष्ट डिफेन्डर चेतन चौधरी बने । सर्वाधिक गोलकर्ताको पुरस्कार बिनोद केवट र धनसिंह बिकले संयुक्त रुपमा हात पारे । राइजिङ स्टार कै सन्दिप केसी उत्कृष्ट प्रशिक्षक बने ।
कोहलपुर रेसिङ सहारा फुबल क्लब, कोहलपुर, बाँकेको आयोजनामा फागुन १७ गतेदेखि शुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरी कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।