News लुम्बिनी कपको उपाधी जित्ने दुबै टिमको दाबी
गोलनेपाल

अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कपको उपाधीका लागि फाइनल प्रवेश गरिसकेका एपीएफ क्लब र नेपाल पुलिस क्लब दुबै टिमले उपाधी आफ्नो पोल्टामा पार्ने दाबी गरेका छन्। नेपालगन्जमा आज आयोजित पत्रकार सम्मेलनमा दुबै टिमका प्रशिक्षक र कप्तानहरूले खेलबारे आत्मविश्वासपूर्ण अभिव्यक्ति दिएका छन्।

एपीएफ क्लबकी मुख्य प्रशिक्षक भगवती थापाले प्रतियोगिताको फाइनल खेल जित्नुपर्ने चर्को अपेक्षा रहेको बताइन्। “हामी माथि दबाब छ, तर प्रतिस्पर्धीलाई कमजोर आँकलन गर्न मिल्दैन,” उनले भनिन्, “हामीले तयारी गरेका छौं र जितको लक्ष्यका साथ मैदानमा उत्रिनेछौं।” कप्तान अनिता बस्नेतले खेल रोमाञ्चक हुने उल्लेख गर्दै जितकै लागि खेल्ने प्रतिबद्धता जनाइन्। “यो प्रतियोगिता महिला खेलाडीका लागि मात्र नभई सबै खेलप्रेमीहरूका लागि प्रेरणादायक बनेको छ,” अनिताले भनिन्।

नेपाल पुलिस क्लबका प्रशिक्षक सुमन सुवेदीले रणनीति अनुसार खेल्दै जिततर्फ अग्रसर हुने जानकारी दिए। “फुटबलमा कुनै पनि नतिजा सम्भव हुन्छ,” उनले भने, “राम्रो टिम पनि कहिलेकाहीँ चुक्न सक्छ, तर हामी तयारीसाथ मैदानमा उत्रिनेछौं।” क्लबकी कप्तान निरु थापाले फाइनलसम्मको यात्रा सपना जस्तै भएको बताउँदै उपाधी जित्ने लक्ष्य पूरा हुने विश्वास व्यक्त गरिन्। उनले महिला फुटबलको विकासका लागि निरन्तर प्रतियोगिता र व्यवस्थापन सुधारको आवश्यकता औंल्याइन्।

पत्रकार सम्मेलनमा म्याच कमिसनर प्रदेश सिंह राठौर, म्याच कोर्डिनेटर कमल खत्री, अन्तरालका कार्यकारी जयनारायण शाह, एन्फा बाँके अध्यक्ष भोजराज शाही, मिडिया संयोजक निरज गौतमलगायतका खेलकर्मी, सञ्चारकर्मी र आयोजकहरूको उपस्थित रहेको थियो। कार्यक्रमको अन्त्यमा दुबै टिमका कोच र कप्तानको सामूहिक तस्विर खिचिएको थियो, जहाँ भोलीको खेलप्रति उनीहरूको तयारी र गम्भीरता स्पष्ट देखिन्थ्यो।

फाइनल खेल दिउँसो ३ बजे नेपालगन्ज रंगशालामा सुरु हुने मिडिया संयोजक गौतमले जानकारी दिए। प्रतियोगितामा ८ टिम सहभागी थिए — नेपालबाट एपीएफ क्लब, नेपाल पुलिस, त्रिभुवन आर्मी, बाँके-११, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, रौतहट एफसी तथा भारतको सिलिगुडी क्लब।

एपीएफले कर्णालीलाई ६–० र रौतहटलाई ३–० ले हराउँदै फाइनल यात्रा तय गरेको हो भने नेपाल पुलिसले सिलिगुडीलाई ४–० ले र आर्मीलाई सडन डेथमा पराजित गर्दै उपाधि नजिक पुगेको हो।

प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ।

Post Comments