
केराबारी । झिनो अन्तरको जितका साथ चुलाचुली स्र्पोटिङ क्लब, दमक जारी प्रथम सतिसाले च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको तेस्रो क्वाटरफाइनलतर्फ चुलाचुलीले न्यु स्टार क्लब, बराहक्षेत्रलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । चुलाचुलीका लागि म्यान अफ दि म्याच समेत घोषित सन्दिप खड्काले एक मात्र निर्णायक गोल गरे ।
प्रतियोगिता अन्तर्गत पुष ४ गते बिहीबारको चौथो क्वाटरफाइनल खेल पानबारी फुटबल क्लब, धरान र बेतना फुटबल क्लब, बेलबारी बीच हुने आयोजकले जानकारी दियो ।
सतिसाले स्र्पोटिङ क्लब, केराबारी, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५० हजार ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल पुष ७ गतेका दिन हुनेछ ।