बाढीपिडितलाई पोर्चुगलबाट बुद्ध एफसीको पनि सहयोग
गोलनेपाल

काठमाडौं । प्रवाशमा रहेर पनि देशको दुःखमा साथ दिने विभिन्न नेपाली समुदायहरुको सूचीमा बुद्ध एफसी, पोर्चुगल पनि थपिएको छ ।

पोर्चुगलमा रहेका प्रवासी नेपालीहरुद्वारा स्थापित बुद्ध एफसीले विभिन्न खेलकुद कार्यक्रमको आयोजनासँगै सामाजिक कार्यहरुमा पनि अग्रसर भई सहभागिता जनाउने र काम गर्दै आईरहेको छ ।

यसै क्रममा क्लबले केही साता अघि नेपालमा आएको विनाशकारी बाढीमा परेका पिडितहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा केही आर्थिक सहयोग गरेको छ ।

क्लबले आफ्ना पदाधिकारी, खेलाडी तथा शुभेच्छुकहरुसँग स्वेच्छिक रकम संकलन गरी १ लाख ६१ हजार ४४१ रुपैयाँ र ९ पैसा राहत कोषमा सहयोग गरेको हो ।

राहत संकलन कार्यक्रमका संयोजक तथा क्लब कै व्यवस्थापकका रुपमा समेत सक्रिय भुपेन्द्र काउचा मगरले आफ्नो देशको यो विषम परिस्थतिमा परदेशमा रहेर पनि सहयोग गर्नु आफूहरुको जिम्मेवारी र दायित्व रहेको बताए ।

साथै, उनले यो सहयोग अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैप्रति आभार र धन्यवाद समेत प्रकट गरे ।

Post Comments