News आयोजक नागस्वतीलाई तेस्रो नागस्वती भेट्रान्स कपको उपाधि
बिक्रम बानियाँ क्षेत्री

हेटौँडा । यहाँ सम्पन्न तेस्रो नागस्वती भेट्रान्स कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि आयोजक नागस्वाती भेट्रान्स क्लबले हात पार्न सफल भएको छ ।

हेटौँडा ७ नागस्वतीमा शनिवार सम्पन्न फाइनल खेलमा जोरपाटी भेट्रान्स काठमाडौँलाई ट्राईब्रेकरमा पराजित गर्दै नागस्वती विजयी हुन सफल भएको हो ।

निर्धारित समयमा दुवै समूहबाट एक-एक गोल भएपछि खेल ट्राई ब्रेकरमा पुगेको थियो । खेलको ३९ औँ मिनेटमा नागस्वतीको तर्फबाट मिलेन्द्र देवानले गोल गरेका थिए भने जोरपाटीको तर्फबाट ४६औँ मिनेटमा निमा लामाले गोल गरेका थिए ।

ट्राईब्रेकरमा जोरपाटीको तर्फबाट राकेश लामा,निमा लामा र रञ्जित लामाले गोल गरेका थिए भने नागास्वतीको तर्फबाट मिलेन्द्र देवान,दिलीप क्षेत्री, बिकर्ण श्रेष्ठ र निमा लामाले गोल गर्दै ४-३ गोल अन्तरमा टिमलाई विजयी बनाउन सफल भएका थिए ।

फाइनल खेलको म्यान अफ द म्याच नागस्वतीका गोलकिपर दिलीप क्षेत्री घोषित भएका थिए । खेलमा वेस्ट फरवार्ड जोरपाटीका सुरज सुवेदी, वेस्ट गोलकिपर नागस्वतीका दिलीप क्षेत्री,वेस्ट डिफेन्डर मिलन राई, वेस्ट मिडफिल्ड राजकुमार घिसिङ, वेस्ट स्कोरर मिलेन्द्र देवान, वेस्ट टिम कोच भीम श्रेष्ठ घोषित भएका थिए ।

विधागत खेलाडीहरूलाई जनही १०-१० हजार नगद प्रदान गरिएको थियो भने खेलको सर्वोत्कृष्ट खेलाडी नागस्वतीका सन्तोष बस्नेत घोषित भएका थिए । बस्नेतलाई नगद ५० हजार प्रदान गरिएको थियो ।

नागस्वती भेट्रान्स क्लबको आयोजनामा भएको प्रतियोगितामा देशभरका ४० वर्ष माथि उमेर समूहका पूर्व राष्ट्रिय खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको विजयी समूहले २ लाख १ हजार र उपविजेता लाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा देशभरका १५ वटा भेट्रान्स क्लबहरूको सहभागिता रहेको थियो । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ आयोजना भएको प्रतियोगिताले पूर्व खेलाडीहरूको मनोबल उच्च राख्न सहयोग पुग्ने क्लबका अध्यक्ष सोम बहादुर तितुङ्ले बताए । 

Post Comments