News कोपा अमेरिकाः अर्जेन्टिनालाई किर्तिमानी उपाधि
गोलनेपाल

काठमाडौं (एजेन्सी) । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले ४८औं कोपा अमेरिकाको उपाधि किर्तिमानी १६औं पटक जित्न सफल भएको छ । सोमबार बिहान भएको फाइनल भिडन्तमा कोलम्बियालाई हराउँदै अर्जेन्टिनाले उपाधि रक्षासँगै किर्तिमानी सफलता हात पारेको हो ।

योसँगै अर्जेन्टिना कोपा अमेरिकाको उपाधि सबैभन्दा धेरैपटक जित्ने एक्लो टोली समेत बनेको छ । दोस्रो स्थानमा उरुग्वे छ । उरुग्वेले कुल १५ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । त्यस्तै तेस्रो स्थानमा ब्राजील छ, जसले कुल ९ पटक यो उपाधि जितेको छ ।

सोमबार बिहान अमेरिकी शहर मियामीमा भएको फाइनल भिडन्तमा अर्जेन्टिनाले कोलम्बियालाई शून्यका विरुद्ध १ गोलले हरायो । यद्यपि त्यो निर्णायक गोल गर्न अजेन्टिनी टोलीलाई अतिरिक्त समयसम्म संघर्ष गर्नुपर्यो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि थपिएको अतिरिक्त समयको ११२औं मिनटमा लौतारो मार्टिनेजले गरेको एक मात्र गोल अर्जेन्टिनालाई उपाधि किर्तिमानी जिताउन निर्णायक बन्यो ।

जेम्स सर्वोत्कृष्ट खेलाडी

विधागततर्फ कोलम्बियाका जेम्स रोड्रिगेज प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । त्यस्तै अर्जेन्टिनाका इमिलियानो मार्टिनेज उत्कृष्ट गोलरक्षक बन्दा प्रतियोगिताभरि कुल ५ गोल गरेका अर्जेन्टिना कै लौतारो मार्टिनेज सर्वाधिक गोलकर्ता बने । त्यस्तै कोलम्बियाले फेयर प्ले टिमको पुरस्कार हात पार्यो ।

Post Comments