कैलारी । कैलालीको कैलारी गाउँपालिका–४, के गाउँमा जारी २७औँ निसर्ग महिला तथा पुरुष फुटबल प्रतियोगिता–२०८३ अन्तिम चरणमा पुगेको छ। सोमबार महिलातर्फ सुर्मादेवी युवा क्लब, धनगढी र पुरुषतर्फ संघर्ष स्पोर्ट्स क्लब, मालाखेती फाइनलमा प्रवेश गरेसँगै दुवै विधाको उपाधि भीडन्त तय भएको छ।
महिलातर्फ दोस्रो सेमिफाइनलमा घोडाघोडी क्लब, सुखडलाई २–० ले पराजित गर्दै सुर्मादेवीले फाइनल यात्रा तय गर्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आकृति शाहीले ३९औँ मिनेटमा गोल गर्दै अग्रता दिलाइन्। सरस्वती नेपालीले ६१औँ मिनेटमा दोस्रो गोल थपिन्। सुर्मादेवीकी कप्तान बिपना स्नेही खेलको उत्कृष्ट खेलाडी घोषित भइन्।
पुरुषतर्फको अन्तिम सेमिफाइनलमा सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढी र संघर्ष स्पोर्ट्स क्लबबीच निर्धारित समय १–१ को बराबरीमा सकियो। संघर्षका पासाङ लामाले २२औँ मिनेटमा गोल गर्दै टोलीलाई अघि बढाए। दोस्रो हाफमा प्रहरीका श्याम बयाडीले बराबरी गोल फर्काए। पेनाल्टी सुटआउटमा संघर्षले ५–३ को जीत निकाल्दै फाइनलमा स्थान बनायो। पासाङ लामा खेलको उत्कृष्ट खेलाडी चुनिए।
अब भदौ ३१ गते प्रतियोगिताका दुवै उपाधिको फैसला हुनेछ। महिलातर्फ दिउँसो १:३० बजे सुर्मादेवी युवा क्लब, धनगढी, कैलाली र न्यू कालिका युवा क्लब, पुनर्वास, कञ्चनपुरबीच फाइनल हुनेछ। पुरुषतर्फ अपराह्न ४ बजे ईलाईट युवा क्लब, वनकट्टा र संघर्ष स्पोर्ट्स क्लब, मालाखेती उपाधिका लागि आमनेसामने हुनेछन्।
न्यु युवा सुन्दर शक्ति क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा पुरुषतर्फ १६ तथा महिलातर्फ ८ टोली सहभागी छन्। प्रतियोगिताको पुरुष विजेताले रु. १ लाख र उपविजेताले रु. ५० हजार, महिलातर्फ विजेताले रु. ४० हजार र उपविजेताले रु. २५ हजार प्राप्त गर्नेछन्।
भदौ २० गतेदेखि सुरु भएको प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि., धनगढी–५, हसनपुर, कैलाली हो। कैलारी गाउँपालिका मुख्य प्रवर्द्धक तथा कैलारी गाउँपालिका–४ वडा कार्यालय सह–प्रवर्द्धक रहेका छन्। प्रतियोगिताको नारा “खेलकुद नै विकासको आधार हो” रहेको छ।