News पोखरालाई राजेश स्मृति कपको उपाधि
सुरज राना मगर

बुटवल । अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध लागु औषध ओसारपसार विरुद्धको दिवसको अवसर पारी राजेश स्मृति फाउण्डेशन, कपिलवस्तुको आयोजनामा भएको राजेश स्मृति कप एक दिने फुटसल प्रतियोगिताको उपाधि पोखरा फेलोशिप, पोखराले जितेको छ ।

बुटवल स्थित लुम्बिनी फुटसलमा भएको फाइनल भिडन्तमा पोखराले चितवन फेलोशिप, चितवनलाई शून्यका विरुद्ध ५ गोलले हराउँदै उपाधि माथि कब्जा जमाउन सफल भएको हो ।

विजेता बनेको पोखराले उपाधिसहित नगद ४० हजार हात पार्यो भने उपविजेता चितवनले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । व्यक्तिगत विधातर्फ पोखरा कै वर्चश्व रह्यो । उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी पोखराका क्रमशः सुबिन गुरुङ्ग, कुशल परियार र अरुण गुरुङ्ग घोषित भए ।

एक दिने प्रतियोगितामा रुपन्देही, कास्की, चितवनका गरी कुल १४ टोलीहरुले सहभागिता जनाएको खेल संयोजक नबिन राना मगरले जानकारी दिए ।

Post Comments