News छथर जोरपाटी, फोम्बो समाज, हाङपाङ र गिरी समाज मदन मेलाको सेमिफाइनलमा
रमेश समदर्शी

संक्रान्ति बजार (तेह्रथुम) । स्थानीय त्रिमोहन माविको खेल मैदानमा जारी ऐतिहासिक मदन मेला २०८१ को अवसरमा आयोजित पुरुषतर्फ शुक्रबार ६ खेल सम्पन्न भएका छन् ।

जसमा छथर जोरपाटी, फोम्बो समाज, हाङपाङ र गिरी समाज मदन मेलाको सेमिफाइनलमा प्रवेश गरेका छन् । दुवै सेमिफाइनल खेल भोलि शनिबार हुनेछ ।

आज भएको खेलमा फोम्बो आवाजुङ कल्याणकारी समाजले नागेश्वर आधारभूत विद्यालय होडालाई ३-० गोलले पराजित गरेको हो । फोम्बो समाजका लागि अनुप सेन्दाङले ह्याट्रिक पूरा गरेका हुन् ।

दोस्रो खेलमा छथर जोरपाटीले आठराई गाउँपालिकाको टिमलाई ४-० गोलअन्तरले पराजित गर्यो । छथर जोरपाटीका लागि मिक्सन दासले ह्याट्रिक पूरा गर्दा पुजन थापाको नाममा एक गोल रह्यो ।

यस्तै, अर्को खेलबाट युनाइटेड हाङपाङ एफसी ताप्लेजुङले जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । सोझै बाइ पाएर क्वाटरफाइनल खेलेको हाङपाङको जितमा शितल छहारी युवा क्लबविरुद्ध विरोज सेम्बुको निर्णायक गोल रह्यो ।

यस्तै, अन्तिम क्वाटरफाइनल खेलमा कठिन जित निकाल्दै गिरी समाज खाम्लालुङ सेमिफाइनलमा प्रवेश गर्यो । तेह्रथुम फुटबल क्लबविरुद्ध १-० गोलको नतिजामा गिरी समाजले बाजी मार्यो । उसका लागि खेलको १ मिनेटमै निर्देश राईले गोल गरेका थिए ।

Post Comments