News आयोजक राईजिङ स्टार सेमिफाइनलमा
सुरज राना मगर

सुनवल । आयोजक राईजिङ स्टार फुटबल क्लब, सुनवल–१२, भूमही यहाँ जारी प्रथम नवलपरासी गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको दोस्रो क्वाटरफाइनलमा राईजिङ स्टारले पाल्पा–११, पाल्पालाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

सुनवल–१३ स्थित शहिद स्मृति रंगशालामा भएको खेलको चौथो मिनट मै प्रदिप लामाको पेनाल्टी गोलबाट आयोजक राईजिङले खेलमा अग्रता बनाएको थियो । त्यस्तै दोस्रो हाफको ३१औं मिनटमा रोशन राना मगरले दोस्रो गोल गर्दै घरेलु टोलीको जित पक्का गरे ।

खेलमा आयोजक राईजिङका रोशन राना मगर म्यान अफ द म्याच समेत चुनिए । उनले त्यसवापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत जेठ १९ गते शनिबारको तेस्रो क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब, काठमाडौं र कोहलपुर रेसिङ सहारा क्लब, बाँके बीच हुने खेल संयोजक सन्दिप केसीले जानकारी दिए ।

राईजिङ स्टार सामुदायिक विकास प्रतिष्ठान, सुनवल–१२, भूमही, नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ३ लाख ११ हजार प्राप्त गर्ने प्रतिष्ठानका महासचिव धमेन्द्र अग्रहरीले बताए । फाइनल खेल यही जेठ २४ गतेका दिन हुनेछ ।

Post Comments