News फिफा विश्वकप हेर्न क्यानडा पुगेका ५ नेपालीले मागे शरणार्थी दर्जा
गोलनेपाल

काठमाडौं । हालै सम्पन्न फिफा विश्वकप हेर्न क्यानडा पुगेका ५ जना नेपालीले शरणार्थीका लागि आवेदन दिएका छन्। क्यानडाको आप्रवासन, शरणार्थी तथा नागरिकता विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वकपसँग सम्बन्धित भिसामा क्यानडा पुगेका नेपालीमध्ये पाँच जनाले शरण मागेका हुन्।

क्यानडाले विश्वकपका लागि २६,१११ जनालाई अस्थायी प्रवेश अनुमति (भिसा) दिएको थियो। तीमध्ये १७५ जनाले पछि शरणार्थीका लागि आवेदन दिएका छन्, जुन कुल भिसाधारीको करिब ०.६७ प्रतिशत हो।

देशगत विवरणअनुसार घानाका २५, चीनका २५, इजिप्टका १५, कोलम्बियाका १५, सेनेगल, नाइजेरिया र बंगलादेशका १०–१० जनाले शरण मागेका छन्। त्यसैगरी नेपाल, पाकिस्तान, बुरुन्डी र इक्वेडरका ५–५ जना शरणार्थी आवेदनकर्ताको सूचीमा परेका छन्।

क्यानडाको आप्रवासन, शरणार्थी तथा नागरिकता विभागले भने यी आवेदन दिने व्यक्तिहरू खेलाडी, टिम अफिसियल वा समर्थक को हुन् भन्ने बारे विवरण भने सार्वजनिक गरेको छैन । साथै, आगामी दिनमा थप आवेदन आउन सक्ने भएकाले संख्या परिवर्तन हुन सक्ने जनाएको छ ।

स्मरण रहोस, गत जुन ११ देखि जुलाई १९ तारीखसम्म फिफा विश्वकप २०२६ को आयोजना क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रुपमा गरेका थिए । जहाँ विश्वभरिका लाखौं समर्थकहरुले रंगशाला मै पुगी प्रत्यक्ष समेत हेरेका थिए ।

Post Comments