News आठराई, छथर जोरपाटी, होडा, तेह्रथुम र फोम्बो समाज विजयी
रमेश समदर्शी

संक्रान्ति बजार (तेह्रथुम) । स्थानीय त्रिमोहन माविको खेल मैदानमा जारी ऐतिहासिक मदन मेला २०८१ को अवसरमा आयोजित पुरुषतर्फ बिहीबार ५ खेल सम्पन्न भएका छन् । जसमा आठराई, छथर जोरपाटी, होडा, तेह्रथुम र फोम्बो समाज विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

आज भएको पहिलो खेलमा फोम्बो आवाजुङ कल्याणकारी समाजले चुहानडाँडा ६ लाई ४-० गोलले पराजित गरेको हो । फोम्बो समाजका लागि सुशिल लिम्बूले ह्याट्रिक पूरा गरे भने थप एक गोल अनुप सेन्दाङको नाममा रह्यो ।

दोस्रो खेलमा तेह्रथुम फुटबल क्लबले ताप्लेजुङको माछा पोखरी हिटी क्लबमाथि ४-० गोलको शानदार जित दर्ता गर्यो । तेह्रथुमका लागि दर्शन लिम्बू, शुलभ लिम्बू, भिष्म लिम्बू र कबविन लिम्बूले गोल गरेका हुन् ।

तेस्रो खेलमा आठराई गाउँपालिकाको टिमले मितेरी क्लब आठराईलाई ३-० गोलले पराजित गरेको हो । गाउँपालिकाका तर्फबाट सागर तामाङले ह्याट्रिक गरेका हुन् ।

यस्तै, चौथो खेलमा नागेश्वरी होडाले हुक्पा चोङबाङ कल्याण समाजलाई १० गोलले पराजित गर्यो । नागेश्वरी होडाका लागि उपेन्द्र देवानले निर्णायक गोल गरेका हुन् ।

पुरुषतर्फको पाँचौ खेलमा फेदाप ५ इसिबुमाथि छथर जोरपाटीले टाइब्रेकरमा बाजी मार्यो । निर्धारित समयको खेल गोलरहित बराबरी खेलेपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा छथर जोरपाटीले ३-१ गोलअन्तरमा फेदापलाई पाखा लगाएको हो ।

महिलातर्फ फेदापको मुनाल बी विजयी

यसैगरी, महिलातर्फको दोस्रो खेलमा मुनाल बी युथ क्लब फेदापले जित दर्ता गरेको छ । जितसँगै मुनाल बी सेमिफाइनल प्रवेश गरेको छ ।

म्याङलुङ स्पोर्टिङ क्लबलाई २-० गोलले पराजित गर्दै मुनाल बीले अन्तिम चारमा स्थान बनाएको हो । मुनालका लागि सञ्जु तामाङ र तिर्था लिम्बूले गोल गरेका हुन् ।

२०१५ सालदेखि लाग्दै आएको मदन मेलामा पुरुषतर्फ २७ टोली र महिलातर्फ ६ टोली सहभागी रहेका छन् । पुरुषतर्फको विजेताले नगद २ लाख र महिलातर्फको विजेताले ८० हजारसहित रनिङ ट्रफी प्राप्त गर्नेछ ।

Post Comments