
बेलबारी । यहाँ सम्पन्न तेस्रो माघे संक्रान्ती कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि नक्सलबारी फुटबल क्लब, नक्सलबारीले जितेको छ ।
आइतबार सम्पन्न फाइनलमा केराबारी फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै नक्सलबारी च्याम्पियन बनेको हो । पहिलो हाफको २८औं मिनटमा साइमण्ड लिम्बुले गरेको एक मात्र गोल नक्सलबारीलाई उपाधि जिताउन निर्णायक बन्यो ।
विजेता बनेको नक्सलबारीले उपाधिसहित नगद १ लाख १ हजार हात पार्यो भने उपविजेता केराबारीले ५० हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
केराबारीका दोर्जे तामाङ फाइनल खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद २ हजार र ट्रफी हात पारे । उत्कृष्ट गोलरक्षक नक्सलबारीका चरि लिम्बु बन्दा उत्कृष्ट डिफेन्डर पनि नक्सलबारी कै रमेश राजवंशी घोषित भए । उत्कृष्ट मिडफिल्डर पनि नक्सलबारी कै साइमण्ड लिम्बु चुनिए भने उत्कृष्ण फरवार्ड केराबारीका भुवन बस्नेत बने ।
उत्कृष्ट प्रशिक्षक नक्सलबारीका मणि पुलामी घोषित हुँदा उदीयमान खेलाडीको पुरस्कार नक्सलबारीका अनुप परियारले हात पारे । प्रतियोगिता भरि ३ गोल गरेका नक्सलबारी कै बिबेक राईले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते ।व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ३५–३५ सय सहित ट्रफी हात पारे ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि नक्सलबारी कै आशिष चौधरी घोषित भए । उनले त्यसवापत नगद ६ हजारसहित ट्रफी हात पारे ।
नेपाल मगर संघ, बेलबारी–१, नक्सलबारी, मोरङको आयोजनामा गत पौष २५ गतेदेखि शुरु प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।