Province 2 शुभबिहानी भेट्रान महोत्तरीमा जारी प्रथम भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश
गोलनेपाल

महोत्तरी। महोत्तरीको बर्दिवास नगरपालिका–११, खयरमारा स्थित सहिद स्मृति खेल मैदानमा खयरमारा युवा क्लबको आयोजनामा सञ्चालित प्रथम भेट्रान फुटबल प्रतियोगिता २०८३ को पाँचौँ दिनका खेल सम्पन्न भएका छन्। पाँचौँ दिनसँगै प्रतियोगिताका सम्पूर्ण क्वाटरफाइनल खेलहरू पनि सम्पन्न भएका छन्।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा शुभबिहानी भेट्रान र बागमती भेट्रानबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा शुभबिहानी भेट्रानले बागमती भेट्रानलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

खेलको पहिलो हाफमै उत्कृष्ट प्रदर्शन गरेको शुभबिहानी भेट्रानले चार गोल गर्दै बलियो अग्रता बनाएको थियो। दोस्रो हाफमा बागमती भेट्रानको खेलमा फर्कने प्रयास सफल हुन नसक्दा शुभबिहानीले ४–० को सहज जित निकाल्दै अन्तिम चरणमा स्थान बनाउन सफल भयो।

खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका शुभबिहानी भेट्रानका दुर्गा मगर 'म्यान अफ द म्याच' घोषित भए। उनले नगद रु. १ हजार र मेडल प्राप्त गरेसँगै खादा ओढाएर सम्मान समेत गरिएको थियो।

प्रतियोगिताको सेमिफाइनलमा शुभबिहानी भेट्रानले महोत्तरी भेट्रानसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, अर्को सेमिफाइनल खेलमा खयरमारा भेट्रान र बेंगाडाबर भेट्रानबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको विजेताले नगद रु. ७० हजारसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई समेत नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

Post Comments