
भैरहवा । उपाधिको बलियो प्रत्याशी मानिएको फर्साटिकर युवा क्लब, फर्साटिकर जारी ३०औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको पहिलो सेमिफाइनलतर्फ फर्साटिकरले योङ ब्वाईज फुटबल क्लब, देवदहलाई ४–२ ले हराउँदै उपाधि नजिक पुगेको हो । पक्लिहवा कृषि क्याम्पसमा भएको खेलमा फर्साटिकरका लागि गणेश हमालले ह्याट्रिक गरे भने थप एक गोल योङ ब्वाईजका भिम गुरुङ्गले आत्मघाती गोल गर्न पुगेका थिए । उता पराजित योङ ब्वाईजका लागि भने सतिष थापा मगर र अभिषेक महतोले गोल गरेका थिए ।
खेलमा ह्याट्रिक गरेका फर्साटिकरका गणेश हमाल प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत चैत्र २६ गते मंगलबारको दोस्रो सेमिफाइनल खेल न्यु सृजना युवा क्लब, करौजिया र देवदह ब्वाईज, देवदहबीच हुने खेल संयोजक दिपक थापा (कुमार) ले जानकारी दिए ।
माछापुच्छ्रे क्लब, सिद्धार्थनगर–२ रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने क्लबका अध्यक्ष युवराज थापाले बताए । फाइनल खेल यही चैत्र २८ गतेका दिन हुनेछ ।