
जितपुरसिमरा । मच्छिन्द्र फुटबल क्लब, काठमाडौं यहाँ जारी १५औं जितपुरसिमरा गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको तेस्रो क्वाटरफाइनलमा मच्छिन्द्रले साविक विजेता नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
सिमरा रंगशालामा भएको निर्धारित समयतर्फ पुलिसका लागि विवेक पाण्डेले गोल गरे भने मच्छिन्द्रका लागि राजिव लोप्चनले गोल फर्काएका थिए । निर्धारित समयको खेलपश्चात टाईब्रेकरमा मच्छिन्द्रले पुलिसमाथि ४–३ को जित निकाल्न सफल भयो ।
खेलमा मच्छिन्द्रका गोलरक्षक बिशाल सुनार म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत चैत्र २५ गते सोमबारको चौथो क्वाटरफाइनल खेल फ्रेण्डस क्लब, ललितपुर र हिमालयन शेर्पा क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।
नव जनजागृति युवा क्लब, सिमरा, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २९ गतेका दिन हुनेछ ।