भैरहवा । साविक विजेता देवदह ब्वाईज ब्वाईज, देवदह जारी ३०औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
आइतबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलतर्फ देवदहले समपुर्ण युवा क्लब, सुपौलीलाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने चौथो टोली बनेको हो ।
पक्लिहवा कृषि क्याम्पसमा सम्पन्न खेलमा देवदहका लागि रोशन थापा र मिलन आले मगरले गोल गरे । खेलको म्यान अफ दि म्याच भने देवदह कै कप्तान नर थापा मगर चुनिए ।
प्रतियोगिता अन्तर्गत चैत्र २५ गते सोमबारको पहिलो सेमिफाइनल खेल फर्साटिकर युवा क्लब, फर्साटिकर र योङ ब्वाईज फुटबल क्लब, देवदहबीच हुने खेल संयोजक दिपक थापा (कुमार) ले जानकारी दिए ।
माछापुच्छ्रे क्लब, सिद्धार्थनगर–२ रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने क्लबका अध्यक्ष युवराज थापाले बताए । फाइनल खेल यही चैत्र २८ गतेका दिन हुनेछ ।