News हाम्रो इटहरी भेट्रान क्लबलाई उपाधि
गोलनेपाल

इटहरी । पाँचौं इटहरी भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक हाम्रो इटहरी भेट्रान क्लब, सुनसरीले जितेको छ ।

फाइनलमा हाम्रो राजारानी भेट्रान क्लब, धनकुटालाई टाईब्रेकरमा हराउँद्र हाम्रो इटहरी भेट्रान च्याम्पियन बनेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ खेलको १७औं मिनटमा सचिन राईको गोलबाट हाम्रो राजारानी भेट्रानले खेलमा अग्रता बनाएको थियो । यद्यपि २७औं मिनटमा डेनिम राईले हाम्रो इटहरी भेट्रानका लागि बराबरी गोल फर्काएका थिए । टाईब्रेकरमा भने हाम्रो इटहरी भेट्रानले हाम्रो राजारानी भेट्रानमाथि ४–३ को जित निकाल्दै उपाधि उचाल्न सफल भयो ।

विजेता बनेको हाम्रो इटहरी भेट्रानले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता हाम्रो राजारानी भेट्रानले ६१,००० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । फाइनल खेलको म्यान अफ दि म्याच हाम्रो इटहरी भेट्रानका तुलसी श्रेष्ठ बने । उनले त्यसवापत नगद २१०० र ट्रफी हात पारे ।

उत्कृष्ट गोलरक्षक पनि हाम्रो इटहरी भेट्रान कै सुनिल तामाङ बन्दा उत्कृष्ट डिफेन्डर समेत हाम्रो इटहरी भेट्रान कै दिवश राई चुनिए । त्यस्तै उत्कृष्ट मिडफिल्डर पनि हाम्रो इटहरी भेट्रान कै डेनिम राई चुनिदा उत्कृष्ट फरवार्ड हाम्रो राजारानी भेट्रानका सचिन राई बने ।

उत्कृष्ट प्रशिक्षक हाम्रो इटहरी भेट्रानका लिलाराम मगर बने । उत्कृष्ट बनेका सबैले जनही ३५००–३५०० र ट्रफी हात पारे । त्यसैगरी सर्वाधिक गोलकर्ताको पुरस्कार भने समान २–२ गोल गरेका हाम्रो राजारानी भेट्रानका कृष्ण शाक्य, सचिन राई र टि.डब्लु.वाई.सी., बिराटनगरका गणेश लावतीले हात पारे । तीनै जनाले जनही १५–१५०० नगद बाँडे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने हाम्रो राजारानी भेट्रानका कृष्ण शाक्य घोषित भए । उनले त्यसवापत नगद ५ हजार र ट्रफी हात पारे । विजेता तथाउपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष बिन्दिया कार्की लगायतले पुरस्कृत गरिन् ।

Post Comments