News सातदोबाटो युथ क्लब, ललितपुर सेमिफाइनलमा प्रवेश
गोलनेपाल

मूलखर्क । संखुवासभाको मादी नगरपालिका-३, मूलखर्कमा जारी प्रथम ‘मझिया स्मृति कप २०८३’ आमन्त्रित महिला फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा सातदोबाटो युथ क्लब, ललितपुर विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न खेलमा सातदोबाटोले ओएसिस क्लब, इलामलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेल सुरु भएको तेस्रो मिनेटमै सातदोबाटोकी अञ्जना राईले गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । खेलको २९ औँ मिनेटमा ओएसिस क्लब, इलामकी सुजु राइले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्यायो ।

त्यसको दुई मिनेटपछि ३१ औँ मिनेटमा सातदोबाटो की सरिता नाथले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाइन् । त्यसपछि थप गोल हुन नसक्दा सातदोबाटोले खेल जित्दै सेमिफाइनलमा स्थान बनायो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी सातदोबाटो युथ क्लबकी जर्सी नम्बर ७ की सरिता नाथ ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

उक्त खेलका लागि पाँचखपन नगरपालिकाका प्रमुख विपिन राई प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

स्वर्गीय मानबहादुर जिमी ‘मझिया’को स्मृतिमा आयोजित प्रतियोगिता मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानको आयोजना तथा हाङ्थुम क्लबको सह-आयोजनामा सञ्चालन भइरहेको छ । प्रतियोगितामा आठ टोली सहभागी छन् ।

प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले २१ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बिहीबार भोली दिउँसो १२ बजे रेवाहाङ फेयर फुटबल क्लब महिला टिम, धरान र फेदाप गाउँपालिका, पोक्लावाङ, तेह्रथुमबीच हुनेछ ।

Post Comments