News अफ्रिकी टोली माबोयी २६औं माडी गोल्डकपको फाइनलमा
गोलनेपाल

बसन्तपुर । प्रभावशाली जित हात पार्दै अफ्रिकी टोली माबोयी फुटबल क्लब, बुर्किना फासो जारी गोल्डेन इमिनेन्ट २६औं माडी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा माबोयीले हनामी बिएफसी, भरतपुरलाई ५–१ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । माबोयीका लागि फाइलाल र फोडे फोफोनाले समान दुई–दुई गोल गरे । थप एक गोल भने फोफोना इब्राहिमले गरे । उता पराजित बिएफसीका लागि सुरेश कुमालले एक मात्र गोल फर्काएका थिए ।

खेलमा अफ्रिकी टोली माबोयीका फाइलाल म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत माघ ११ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल सुर्यपुर फुटबल क्लब र प्याराडाइज फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

बसन्तपुर युनाइटेड क्लब, माडी, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

Post Comments