
बेसीशहर । बुद्ध युवा क्लब, भोटबडार र अभिषेक चर्च, रजहर यहाँ जारी ३२औं त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार बेसीशहर स्थित त्रिवेणी रंगशालामा भएको पहिलो खेलमा बुद्ध युवा क्लबले मस्र्याङ्दी युथ क्लब, बेसीशहरलाई १–० को झिनो अन्तरले हरायो । खेलको ३४औं मिनटमा शिव सुवेदीले गरेको एक मात्र गोल बुद्ध युवा क्लबलाई जित दिलाउन निर्णायक गोल बन्यो ।
त्यस्तै दोस्रो खेलमा अभिषेक चर्चले संकटा फुटबल क्लबलाई टाईब्रेकरमा हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । अभिषेक चर्चका लागि दुवै गोल मिङ्सो लिम्बुले गरे भने संकटाका लागि दुवै गोल कप्तान कुलदिप कार्कीले गरे । उनले एक गोल पेनाल्टी मार्फत गरेका थिए । टाईब्रेकरमा भने अभिषेक चर्चले संकटामाथि ५–३ को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो ।
प्रतियोगिता अन्तर्गत पुष १७ गते बुधबार हुने पहिलो क्वाटरफाइनलमा एपिएफ फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब भिड्ने छन् भने दोस्रो क्वाटरफाइनलमा न्युरोडटिम –एनआरटी) र टोखा भगवती क्लब बीच हुने आयोजकले जानकारी दियो ।
त्रिवेणी युवा क्लब, बेसीशहर, लमजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही पुष २० गतेका दिन हुनेछ ।