
काठमाडौं (एजेन्सी) । बंगलादेशको राष्ट्रिय महिला लिगका रुपमा परिचित ट्रिकोटेक्स वुमन्स फुटबल लिग २०१९–२० को उपाधि बसुन्धरा किंग्सले जितेको छ । किंग्सको यो पहिलो लिग उपाधि समेत हो ।
लिग अवधिभर अपराजित रहेको किंग्सले १२ खेलबाट कुल ३६ अंक जोड्दै शिर्ष स्थानमा रह्यो र लिग च्याम्पियन बन्यो । विजेता बनेको किंग्सले लिग उपाधिसहित नगद ३ लाख बंगलादेशी टाका हात पार्यो ।
त्यस्तै लिग उपविजेता नसरिन फुटबल एकेडेमी बन्यो । लिगमा आफूले खेलेको कुल १२ खेलबाट ३० अंक जोडेको नसरिन लिगतालिकाको दोस्रो स्थानमा रहेर उपविजेता बन्यो । नसरिनले पनि ट्रफीसहित नगद २ लाख बंगलादेशी टाका हात पार्यो ।
त्यसैगरी लिग च्याम्पियन बसुन्धरा किंग्सकी ताहुरा खातुन सर्वोत्कृष्ट खेलाडी घोषित भईन भने लिग अवधि भरि कुल ३५ गोल गरेकी किंग्स कै खेलाडी सबिना खातुनले सर्वाधिक गोलकर्ताको पुरस्कार जितिन । दुवै खेलाडीले जनही ५–५ हजार टाका हात पारे ।
बंगलादेशको कमलापुर स्थित मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको समापन कार्यक्रममा विजयी खेलाडीहरुलाई दक्षिण एसियाली फुटबल महासंघ (साफ) तथा बंगलादेश फुटबल फेडरेशनका अध्यक्ष काजी मोहमद सालाहुद्दिनले पुरस्कृत गरेका थिए ।
स्मरणीय छ, बंगलादेश फुटबल फेडरेशनको आयोजनामा यसै बर्षको फेब्रुअरीदेखि शुरु भएको यो लिग विश्वव्यापी महामारी कोभिड–१९ का कारण बिचैमा स्थगित गरिएको थियो । यद्यपि स्थगित गरिएको सोही लिग बंगलादेश फुटबल फेडरेशनले गत नोभेम्बरदेखि फेरि सूचार गर्ने निर्णय गरेको थियो ।
(तस्विरः बंगलादेश फए)