
काठमाडौं । नेपाली खेलकुदमा आफ्नो विशेष पहिचान बनाएको बिभागीय टोली नेपाल पुलिसले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सहकार्य गर्न तत्परता देखाएको छ ।
सोमबार एन्फा र नेपाल पुलिसबीच युथ एकेडेमी स्थापनाका लागि बैठक बसी गम्भिर छलफल भएको छ । उक्त बैठकमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा सहित नेपाल पुलिसको तर्फ एआईजी निरज बहादुर शाहीको पनि उपस्थिति रहेको थियो ।
बैठकमा दुवै पक्षले युथ एकेडेमी स्थापनाका लागि आवश्यक छलफल गर्नुका साथै क्लब स्तरमै युथ फुटबलको विकासा लागि कसरी अगाडी बढ्ने भन्नेबार आ–आफ्नो विचार आदान प्रदान गरेका थिए ।
सो अवसरमा एन्फाका ग्रासरुटस फुटबल संयोजक उपेन्द्रमान सिंह, युथ फुटबल प्रमुख नबिन महर्जन तथा राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पनि आ–आफ्नो सम्बन्धित क्षेत्रबारे बिचार राखेका थिए ।
एएफसी क्लब लाइसेन्सीङमा नेपाल अझै पछाडी
एसियाली फुटबल महासंघ (एएफसी) ले तोकेको क्लब लाइसेन्सीङ मापदण्ड नेपालका शिर्ष क्लबहरुले पूर्ण रुपमा पालना गर्न सकेका छैनन् । सोही कारणले गर्दा पनि नेपाली क्लबहरुले एएफसीले वार्षिक रुपमा आयोजना गर्ने प्रतिष्ठित एएफसी कपमा समेत सहभागिता जनाउन पाएका छैनन् ।
स्मरण रहोस, गत साता मात्र अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले पनि युथ एकेडेमी स्थापनालाई एन्फासँग सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।