
सुपौली । एकतर्फी जित निकाल्दै रेसुङ्गा फुटबल क्लब, दुर्गानगर यहाँ जारी स्व. बस बहादुर शेरपुन्जा पुन तथा दिलकुमारी शेरपुन्जा स्मृति तेस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको पाँचौं प्रिक्वाटरफाइनलतर्फ रेसुङ्गाले गौतमबुद्ध सामुदायिक विकास केन्द्र, कञ्चनलाई ७–३ को अन्तरले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो ।
रेसुङ्गाको जितमा सनम गुरुङ्ग र निराजन साहीले ह्याट्रिक पूरा गरे । थप एक गोल भने शम्भु चौधरीले गरे । उता पराजित गौतमबुद्धका लागि रोशन पुनले दुई गोल गरे भने थप एक गोल सिजन दगामीले गरेका थिए ।
खेलमा रेसुङ्गाका सनम गुरुङ्ग म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंसिर १२ गते बुधबारको छैठौं प्रिक्वाटरफाइनल खेल देवदह ब्वाईज, देवदह र चाँदनी युवा क्लब, दानापुरबीच हुने खेल संयोजक अशोक पुनले जानकारी दिए ।
समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । फाइनल खेल यही मंसिर २२ गतेका दिन हुनेछ ।