News नयाँ रंगशालाका लागि जग्गा उपलब्ध गराउन प्रधानमन्त्रीसमक्ष एन्फाको अनुरोध
बिक्रम बानियाँ क्षेत्री

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ रंगशाला निर्माणका लागि नवनियुक्त प्र्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेको छ । प्रधानमन्त्री ओलीसँगको भेटघाट र सफल कार्यकालका लागि शुभकामना दिन पुगेका एन्फाका पदाधिकारीहरुले सो कुरा प्रधानमन्त्री समक्ष राखेका हुन् ।

एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङ, उपाध्यक्षद्वय दिपक खतिवडा, दावा लामा, महासचिव किरण राईका साथै कार्यसमिति सदस्यहरू लगायतको टोलीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए । सो अवसरमा प्रधानमन्त्री समक्ष रंगशाला निर्माणका लागि जग्गा उपलब्ध गराउनेसँगै दशरथ रंगशाला एन्फा मातहत ल्याउनेबारे छलफल भएको एन्फाको एक पदाधिकारीले बताए ।

सो विषयमा प्रधानमन्त्री ओली पनि सकरात्मक रहेको एन्फा स्रोतले जनाएको छ । स्मरणीय छ, हाल मुख्य अन्तर्राष्ट्रिय रंगशालाका रुपमा प्रयोग हुँदै आएको दशरथ रंगशाला राष्ट्रिय खेलकुद परिषद् (राखेप) मातहत रहेको छ । केही महिना अघि दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता समेत खोसिएको थियो । यद्यपि राखेपको पछिल्लो प्रयास पश्चात रंगशालाले फेरि अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

गत साता सम्पन्न एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणको छनौट खेलतर्फ नेपालको चर्च ब्वाईज युनाइटेड र भुटानको पारो एफसी बीचको खेलपश्चात अन्तर्राष्ट्रियस्तर मै दशरथ रंगशालाबारे चर्को आलोचना भएपछि एन्फाले नयाँ रंगशाला निर्माणसँगै दशरथ रंगशाला पनि आफ्नो मातहत ल्याउन पहल गरेको अनुमान गरिएको छ ।

आइतबारदेखि शुरु भएको साफ यु–२० च्याम्पियनसिप पनि खराब मैदान कै कारण अन्तिम समयमा आएर एन्फा कम्प्लेक्समा सारिएको थियो । साथै एन्फाले प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल मात्र दशरथ रंगशालामा हुने जनाएको छ ।

Post Comments