
काठमाडौं । जारी युइएफए युरो २०२४ तर्फ दोस्रो सेमिफाइनलमा इङल्याण्ड र नेदरल्याण्डस भिड्ने भएका छन् । शनिबार राती सम्पन्न अन्तिम दुई क्वाटरफाइनलमा इङल्याण्ड र नेदरल्याण्डसले जित निकाल्दै सेमिफाइनल भेट पक्का गरेका हुन् ।
जर्मन शहर डुसेलडर्फमा भएको तेस्रो क्वाटरफाइनलतर्फ इङल्याण्डले स्वीजरल्याण्डमाथि टाईब्रेकरमा संघर्षपुर्ण जित निकाल्यो । खेलको ७५औं मिनटमा ब्रील एम्बोलोको गोलबाट स्वीजरल्याण्डले खेलमा सनसनीपूर्ण अग्रता बनाएको थियो ।
तर, त्यसको पाँच मिनट लगतै बुकायो साकाले इङल्याण्डका लागि गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । त्यसपछि थपिएको अतिरिक्त समयको खेलमा पनि नतिजा निस्किन नसक्दा खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । टाईब्रेकरमा भने इङल्याण्डले स्वीजरल्याण्डमाथि ५–३ को जित निकाल्दै सेमिफाइनल स्थान पक्का गर्यो ।
त्यस्तै अन्तिम क्वाटरफाइनलमा नेदरल्याण्डसले टर्कीलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्यो । बर्लिनमा भएको खेलमा शुरुवाती अग्रता भने टर्कीले लिएको थियो । खेलको ३५औं मिनटमा समित अकेडिनको गोलबाट टर्कीले खेलमा अग्रता बनाएको थियो ।
तर, नेदरल्याण्डसले खेलमा रोमाञ्चक पूनःरागमन गर्यो । ७०औं मिनटमा स्टेफन डि व्रिजले नेदरल्याण्डसका लागि बराबरी गोल फर्काए भने ७६औं मिनटमा टर्कीका मेर्ट मुल्डुरले गरेको आत्मघाती गोल नेदरल्याण्डसलाई सेमिफाइनल पुर्याउन निर्णायक गोल बन्यो ।
शनिबारको खेलको नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । ९ जुलाईका दिन म्युनिखमा हुने पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स भिड्ने छन् भने १० जुलाईका दिन डर्टमुण्डमा हुने दोस्रो सेमिफाइनलमा इङल्याण्ड र नेदरल्याण्डस भिड्ने छन् ।