News छथर जोरपाटीलाई मदन मेला फुटबलको उपाधि
रमेश समदर्शी

संक्रान्ति बजार (तेह्रथुम) । स्थानीय त्रिमोहन माविको खेल मैदानमा आयोजित ऐतिहासिक मदन मेला २०८१ को पुरुषतर्फको फुटबल प्रतियोगितामा छथर जोरपाटी धनकुटा च्याम्पियन बनेको छ ।

आज भएको फाइनल खेलमा फोम्बो अवाजुङ कल्याणकारी समाज खाम्लालुङलाई सडनडेथमा पराजित गर्दै पाहुना टोली धनकुटाले उपाधि रक्षा गरेको हो । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले निर्धारित समयमा गोलरहित बराबरी खेलेका थिए ।

निर्णय लिनका लागि रोजिएको टाइब्रेकरमा पनि बराबरी भएपछि खेल सडनडेथमा धकेलिएको थियो । जसमा ८-८ प्रहार भएको थियो । फोम्बो समाजविरुद्ध ६-५ गोलअन्तरमा धनकुटा च्याम्पियन बनेको हो ।

उपाधिसँगै धनकुटाले नगद २ लाख र रनिङ शिल्ड प्राप्त गर्यो । खेलको सर्वाधिक गोलकर्ता फोम्बो समाजका सुशिल लिम्बू भए । उत्कृष्ट रक्षक धनकुटाका पुजन थापा, उत्कृष्ट गोलरक्षक धनकुटाकै प्रेम लिम्बू, बेस्ट फरवार्ड धनकुटाकै विशाल काफ्ले हुँदा फोम्बो समाजका अनुप सेन्दाङ सर्वोत्कृष्ट खेलाडी बने ।

Post Comments