News निरजको ह्याट्रिकसँगै कोहलपुर रेसिङ्ग सेमिफाइनलमा
सुरज राना मगर

सुनवल । निरज चौधरीले प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि कोहलपुर रेसिङ्ग सहारा क्लब, बाँके यहाँ जारी प्रथम नवलपरासी गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।

शनिबार भएको तेस्रो क्वाटरफाइनलतर्फ कोहलपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई ४–२ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । शहिद स्मृति रंगशालामा भएको खेलको पहिलो हाफको इन्जुरी समयमा निरज चौधरीले कोहलपुरका लागि गोलको खाता खोलेका थिए ।

यद्यपि दोस्रो हाफ शुरु भएको तेस्रो मिनट मै पुलिसका सन्देश बिकले बराबरी गोल फर्काए । ६४औं मिनटमा बिबेक पाण्डेले पुलिसलाई खेलमा अग्रता दिलाए । तर विभागीय टोलीले त्यो अग्रता पनि धेरैबेर कायम राख्न सकेन ।

६६औं मिनटमा निरज चौधरीले कोहलपुरका लागि दोस्रो गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । ६९औं मिनटमा बिजय रोकाले कोहलपुरका लागि तेस्रो गोल गरे भने अन्तिमतिर इन्जुरी समयमा निरज चौधरीले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे भने टोलीलाई ४–२ को जित दिलाउन निर्णायक बने ।

खेलमा ह्याट्रिक गरेका कोहलपुरका निरज चौधरी नै खेलको म्यान अफ द म्याच चुनिए । उनले त्यसवापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत जेठ २० गते आइतबारको चौथो क्वाटरफाइनल खेल सुदुरपश्चिम–११ र सहारा फुटबल क्लब, पोखरा बीच हुने खेल संयोजक सन्दिप केसीले जानकारी दिए ।

राईजिङ स्टार सामुदायिक विकास प्रतिष्ठान, सुनवल–१२, भूमही, नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ३ लाख ११ हजार प्राप्त गर्ने प्रतिष्ठानका महासचिव धमेन्द्र अग्रहरीले बताए । फाइनल खेल यही जेठ २४ गतेका दिन हुनेछ ।

Post Comments