News फर्साटिकर र इभोलुशन सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । फर्साटिकर युवा क्लब र आयोजक इभोलुशन क्लब अफ बुटवल यहाँ जारी दोस्रो इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार बर्षाले रोकिएर बिहीबार खेलाइएको पहिलो क्वाटरफाइनलमा फर्साटिकरले हिमाल युथ क्लबलाई २–१ ले हरायो । फर्साटिकरको जितमा अनिल बानियाँ क्षेत्री र बलराम न्यौपानेले गोल गरे ।

पराजित हिमालका लागि भने रमेश शाहीले एक मात्र गोल फर्काए । खेलमा फर्साटिकरका बलराम न्यौपाने म्यान अफ द म्याच समेत चुनिए ।

त्यस्तै बिहीबार नै भएको दोस्रो क्वाटरफाइनलमा इभोलुशनले वाणगंगा वेलफेयर सोसाइटी, कपिलवस्तुलाई ३–० ले हरायो । इभोलुशनका लागि जितेश गुरुङ्गले दुई गोल गरे भने थप एक गोल निराजन खत्रीले गरे ।

खेलमा दुई गोल गरेका इभोलुशनका जितेश गुरुङ्ग म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तर्गत जेठ ४ गते शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल साविक विजेता लिस्नु युवा क्लब र मनोभाव फुटबल क्लब बीच हुने खेल संयोजक अमर थापा मगरले जानकारी दिए ।

इभोलुशन क्लब अफ बुटवलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५२,२५० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष राम बहादुर पुनले बताए । फाइनल खेल जेठ १० गतेका दिन हुनेछ ।

Post Comments