News छैठौं नैकाप गोल्डकप शुरु, क्लिन भिजनको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं । चन्द्रागिरी स्पोर्टस एकेडेमी, चन्द्रागिरी–१४, नयाँ नैकाप, काठमाडौंको आयोजनामा आइतबारदेखि शुरु भएको छैठौं नैकाप गोल्डकप नकआउट फुटबल प्रतियोगितामा क्लिन भिजन युनिटी क्लबले विजयी शुरुवात गरेको छ ।

नैकाप खेलमैदानमा भएको उद्घाटन खेलमा क्लिन भिजनले साविक विजेता तारकेश्वर युथ क्लबलाई शून्यका विरुद्ध ४ गोलले हरायो । क्लिन भिजनको जितमा साहिल केसीले दुई गोल गरे भने राजिव लोप्चन र राजु तामाङले थप एक–एक गोल गरे ।

खेलमा क्लिन भिजनका लागि दुई गोल गरेका साहिल केसी खेलको म्यान अफ द म्याच समेत चुनिए । प्रतियोगिता अन्तरगत असोज २८ गतेदेखि दुई खेलहरु हुने आयोजकले जानकारी दियो ।

आउँदो कार्तिक २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments