रामपुर । सहज जित हात पार्दै फर्साटिकर युवा क्लब, रुपन्देही यहाँ जारी ज्योतिपुञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
बिहीबार भएको चौथो क्वाटरफाइनलमा फर्साटिकरले सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लबलाई ५–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।
रामपुर–७, किसानबारी स्थित ज्योतिपुञ्ज खेलमैदानमा भएको खेलमा फर्साटिकरका लागि आशिष जिसीले ह्याट्रिकसहित चार गोल गरे । थप एक गोल भने अरुण चौधरीले गरे ।
उता पराजित २८ बिगाहाका लागि दिपेन राना मगरले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा ह्याट्रिकसहित चार गोल गरेका फर्साटिकरका आशिष जिसी म्यान अफ द म्याच चुनिए ।
प्रतियोगिता अन्तरगत असोज २६ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल भैरव स्पोर्टस क्लब, नवलपरासी र आयोजक ज्योतिपुञ्ज युवा क्लब, रामपुरबीच हुने खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिए ।
ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदिप गौतमले जानकारी दिए । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने असोज २८ गतेका दिन हुनेछ ।