
सुस्ता । साँघुरो जितका साथ राइजिङ स्टार, भूमही यहाँ जारी दोस्रो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार सम्पन्न खेलमा राइजिङले मायादेवी युवा क्लब, देवदहलाई शून्यका विरुद्ध १ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । राइजिङका लागि शैलेश केवटले एक मात्र निर्णायक गोल गरे ।
निर्णायक गोलकर्ता राइजिङका शैलेश केवट नै म्यान अफ द म्याच चुनिए । उनलाई प्रमुख अतिथी सुस्ता गाउँपालिका वार्ड नम्बर ४ का अध्यक्ष अशोक कुमार गुरुङले पुरस्कृत गरे ।
फागुन १६ र १७ गते महाशिवरात्रीको अवसर पारी दुई दिन खेल नहुने प्रतियोगिता संयोजक धिरज गुरुङले जानकारी दिए । त्यस्तै फागुन १८ गतेको खेल आशा स्मृति युवा क्लब, शाहुमारा र गौतम बुद्ध स्पोर्टस क्लब, बर्दघाटबीच हुने समेत संयोजक गुरुङले बताए ।
सुस्ता गाउँपालिका, नवलरासीको आयोजना तथा एकता युवा क्लब र जरलैया युवा क्लब, सुस्ता–४, नर्सहीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल फागुन २८ गतेका दिन हुनेछ ।