
काठमाडौं । नेपाली फुटबल कै इतिहासमा पहिलोपटक हुन गईरहेको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) ले नेपाली ब्राण्ड खुकुरीलाई टाईटल स्पोन्सरका रुपमा पाएको छ ।
बिहीबार काठमाडौं स्थित होटल विवन्तमा भएको पत्रकार भेटघाट कार्यक्रममा प्रायोजक र लिग आयोजकबीच सम्झौतापत्रमा हस्ताक्षर र आदानप्रदान समेत भयो ।
सम्झौताको आर्थिक पक्षबारे भने खुलाइएको छैन । यो सम्झौतासँगै आउँदो बैशाख ११ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको नाम ‘खुकुरी नेपाल सुपर लिग’ हुने भएको छ ।
स्मरण रहोस, लिगमा सहभागिता जनाउने विभिन्न सात फ्रेन्चाईज टोलीहरुको पनि घोषणा गरिसकिएको छ । जसमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब र धनगढी फुटबल क्लब रहेका छन् ।
साथै लिगमा सहभागिता जनाउने टोलीहरुले अक्सनमार्फत खेलाडीहरु पनि खरिद गरिसकेका छन् । बैशाख २५ गतेसम्म चल्ने लिगका सबै खेलहरु त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुनेछ ।
नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने लिगमा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग रहनेछ ।