
सिमराको नव जनजागृति युवा क्लबलाई फराकिलो गोलअन्तरले पराजित गर्दै आयोजक बागमती नगरपालिकाको टिम यहाँ जारी पाँचौ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा बिहीबार भएको खेलमा सिमरालाई ३–० गोलअन्तरमा पराजित गर्दै आयोजक बागमती नगरपालिकाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफको २१औँ मिनेटमा आयोजकका लागि विदेशी खेलाडी स्टेफनले गोल गर्दै अग्रता दिलाएका थिए ।
प्हिलो हाफमा १–० गोेलले अग्रता कायम राखेको आयोजकका लागि दोस्रो हाफमा थप २ गोल भएको थियो । खेलको ५९औँ मिनेटमा अर्का विदेशी खेलाडी म्याक्सवेलले थप गोल गर्दै अग्रता दोब्बर बनाउन सफल भए । यस्तै, खेलको ७८औँ मिनेटमा सम्झनलायक गोल गर्दै उनैले व्यक्तिगत दोस्रो गोल गरेर आयोजकलाई सेमिफाइनलमा पुग्न सुनिश्चित बनाइदिए ।
खेलको म्यान अफ दी म्याच आयोजक क्लबका कप्तान विजय घलान घोषित भए । उनलाई आयोजकको तर्फबाट नगद १० हजार नगदसहित पुरस्कार प्रदान गरियो ।
घरेलु मैदानमा आयोजक बागमती नगरपालिकाको समर्थनमा घरेलु दर्शकले बाजागाजासहित नेपाली राष्ट्रिय झण्डा फर्फराएर आयोजक र खेलाडीलाई हौसला प्रदान गरेका थिए । यसैबीच, खल्ती एक्साइटिङ फ्यान अफ दी म्याचको रुपमा समर्थकहरुको एक समूह चुनिन सफल बन्यो ।
नेपाली राष्ट्रिय झण्डा फहराउँदै आइ लव बागमती लेखिएको टिसर्ट लगाएको समूहले ठूलो संख्यामा बाजागाजा प्रस्तुत गरेको थियो । सो समूहले खल्ती एपको तर्फबाट नगद २ हजार प्राप्त गरेको छ ।
बाग्मती युवा क्लब र बाग्मती नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगितामा विदेशी २ टोलीसहित १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १० लाख एक हजार पाउँदा उपविजेताले नगद ५ लाख ५ सय र ट्रफीमा चित्त बुझाउनु पर्नेछ ।
शुक्रबारको खेल अफ्रिकन रुट्स एशोसिएसन क्यामरुनले पिप्ले युवा क्लब हेटौँडासँग प्रतिस्पर्धा हुनेछ ।