।पश्चिम रुकुम। शीतल चौरजहारी नगरपालिका वडा नं २ रुकुम पश्चिम जिल्ला कर्णाली प्रदेशमा जारी दोस्रो शीतल चौरजहारी B-67 कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दुई सेमीफाइनल खेलहरू सम्पन्न भएका छन्। विक्रम सम्वत २०६७ सालमा शीतल चौरजहारी रुकुममा रहेको शीतल माध्यमिक विद्यालयबाट एकसाथ रूपमा एसएलसी दिएका विद्यार्थीहरूले पुनः एकजुट हुँदै आयोजना गरेको यस प्रतियोगिताको नामाकरण नै शीतल चौरजहारी B-67 कप राखिएको हो।
सोमबार सम्पन्न प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा गत संस्करणको विजेता खलङ्गा फुटबल क्लब जाजरकोटले सचेत युवा क्लब घारीगाउँलाई ३-० गोल अन्तरले पराजित गरी लगातार दोस्रोपटक उपाधि नजिक पुगेको हो। जाजरकोटको एकपक्षीय जितमा कप्तान सनम केसीले दुई गोल गरेका हुन् भने विकास बिष्टले एक गोल थप गर्न सफल भए। दुई गोल गर्दै जाजरकोटलाई लगातार दोस्रोपटक उपाधि नजिक पुर्याएका सनम केसी प्लेयर अफ द म्याच घोषित भएका हुन्।
सोमबारनै सम्पन्न दोस्रो सेमीफाइनल खेलमा चौरजहारी वारियरलाई २-१ गोल अन्तरले पराजित गरी योङ स्टार फुटबल क्लब रुकुम प्रतियोगिताको उपाधि नजिक पुगेको हो। सुरुवाती समयमा वारियरको लागि पुजन सुनारले शानदार गोल गर्दै अग्रता दिलाउन सफल भएका थिए। त्यसको केही क्षणमै योङ स्टारका टिकाराम सुनारले दुई पहेलो कार्ड प्राप्त गर्दै मैदान छाड्नुपर्दा योङ स्टार फुटबल क्लब १० खेलाडीमा समेटिएको थियो। तर १० खेलाडीमा समेटिएको योङ स्टारको लागि खेलको ३३ औँ मिनेटमा सृजन श्रेष्ठले शानदार गोल गर्दै खेललाई बराबरी अवस्थामा ल्याए । पहिलो हाफमा दुवै टोलीले समान एक एक गोलको बराबरी खेलेका थिए। दोस्रो हाफको १९ औ मिनेटमा सृजन श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गर्दै योङ स्टारको अग्रता कायम गरे । त्यसपछि दुवै टोलीहरूले थप गोल गर्न नसक्दा सृजनको उक्त गोल नै निर्णायक गोल बन्न सफल भयो। सृजन श्रेष्ठ उक्त खेलको प्लेयर अफ द म्याच घोषित भएका छन्।
यो जितसँगै योङ स्टार फुटबल क्लब रुकुमले लगातार दोस्रोपटक यस प्रतियोगिताको फाइनल खेल्दैछ। खलंगा फुटबल क्लब जाजरकोट र योङ स्टार रुकुम अघिल्लो संस्करणका फाइनलिस्ट टोली हुन्।
स्मरण रहोस् अघिल्लो संस्करणमा खलङ्गा फुटबल क्लब जाजरकोटले योङ् स्टार रुकुमलाई पेनाल्टी सुटआउटमा पराजित गरी उपाधि हात पारेको थियो।
खलङ्गा फुटबल क्लब जाजरकोट र योङ स्टार पश्चिम रुकुम बीचको उपाधि भिडन्त मङ्गलबार दिनको ठिक १२ बजे सुरु हुनेछ।
कुल १० टोलीहरूको सहभागिता रहेको यस प्रतियोगिताको विजेताले नगद रु.२ लाख ३० हजार १६७ रुपैयाँ सहित आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता हुने टोलीले नगद रु.१ लाख ३० हजार १६७ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको समापन भने कार्तिक १६ गते हुनेछ।