News कतारः न्यु स्टारलाई आठौं नाईन स्टार दशैं कपको उपाधि
गोलनेपाल

काठमाडौं । विजयादशमी तथा शुभदिपावलीको अवसर पारी कतारमा रहेका प्रवासीहरुद्वारा स्थापित नाईन स्टार फुटबल क्लब, दोहा, कतारको आयोजनामा सम्पन्न आठौं नाईन स्टार दशैं कप फुटबल प्रतियोगिताको उपाधि न्यु स्टार फुटबल क्लबले जितेको छ ।

दोहा स्पोर्टस पार्कमा सम्पन्न फाइनलमा न्यु स्टारले पेट्रो फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो । न्यु स्टारको जितमा रिजन क्षेत्रीले गरेको एक मात्र गोल फाइनल खेलको निर्णायक गोल बन्यो ।

विजेता बनेको न्यु स्टारले उपाधिसहित नगद ३३३३ कतारी रियाल हात पार्दा उपविजेता बनेको पेट्रोले १८१८ कतारी रियालसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो ।

विधागततर्फ पेट्रोका रोशन खड्का प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी घोषित भए । त्यस्तै विधागततर्फ उत्कृष्ट गोलरक्षक न्यु स्टारका अर्जुन चौधरी बन्दा उत्कृष्ट डिफेन्डर पनि न्यु स्टार कै पासाङ लामा बने । त्यसैगरी उत्कृष्ट मिडफिल्डरको पुरस्कार पनि न्यु स्टार कै सुरज मेचेले हात पारे ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कतारका लागि नेपाली राजदुतका प्रथम सचिव श्री अमर राई, आयोजक क्लबका अध्यक्ष कमल लामा लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments