News अनिल पाचे मगरको निर्णायक गोलसँगै मिलनचोक युवा क्लब, प्रिति लाइ २८औँ भुजि लिगको उपाधि
गोलनेपाल

रामेछाप। उमाकुण्ड गाउँपालिका–७, भुजि स्थित अमृत घामछायाँ खेल मैदानमा फुटबल क्लब भुजि (एफसीबी) को आयोजना तथा उमाकुण्ड गाउँपालिकाको मुख्य प्रायोजनमा सञ्चालन भएको २८औँ भुजि लिग रनिङशिल्ड फुटबल प्रतियोगिताको उपाधि मिलनचोक युवा क्लब (एमवाइसी) ले जितेको छ। आज सम्पन्न फाइनल खेलमा आयोजक फुटबल क्लब भुजि (एफसीबी) लाई १–० गोल अन्तरले पराजित गर्दै मिलनचोक युवा क्लब (एमवाइसी) प्रिति ले उपाधि चुमेको हो।

प्रतिस्पर्धात्मक तथा रोमाञ्चक बनेको फाइनल खेलमा मिलनचोक युवा क्लबका अनिल पाचे मगरले निर्णायक गोल गरे। खेलको पहिलो हाफको निर्धारित ३८औँ मिनेटमा अनिलले सानदार गोल गर्दै एमवाइसीलाई अग्रता दिलाएका थिए। त्यसपछि आयोजक एफसीबीले गोल फर्काउन प्रयास गरे पनि सफल हुन सकेन। निर्धारित समयसम्म एमवाइसीले आफ्नो अग्रता कायम राख्दै अनिलको निर्णायक गोलसँगै प्रतियोगिताको उपाधि आफ्नो नाममा गर्न सफल भयो।

उपाधिसँगै विजेता मिलनचोक युवा क्लब प्रितिले नगद रु. १ लाख ४८ हजार ८२८ सहित एक किलो चाँदी र एक तोला सुनको जलप लगाइएको आकर्षक रनिङशिल्ड तथा मेडल प्राप्त गरेको छ। उपविजेता आयोजक फुटबल क्लब भुजिले नगद रु. ७४ हजार ८२८ सहित ट्रफी तथा मेडलमा चित्त बुझाएको छ।

त्यस्तै, प्रतियोगिताको व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी मिलनचोक युवा क्लबका ज्ञानबहादुर पुलामी घोषित भए। सर्वाधिक गोलकर्ताको उपाधि एमवाइसीकै अनिल पाचे मगरले हात पार्दा उत्कृष्ट डिफेन्डर एफसीबीका रोशन देउबञ्जर र उत्कृष्ट गोलरक्षक एमवाइसीका खोमबहादुर श्रेष्ठ घोषित भए। उनीहरूलाई ट्रफी प्रदान गरिएको थियो।

Post Comments