काठमाडौं । नेपाल फुटबल खेलाडी संघको वार्षिक साधारण सभाले संघ विधान पास गरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको साधारण सभाले विधान अनुमोदन गरेको हो ।
विधानमा ४५ वर्ष मुनिका खेलाडी मात्र साधारण सदस्य रहन सक्ने र व्यवसायिक रुपमा प्रशिक्षणमा सामेल हुने खेलाडीको संघको सदस्यता खारेज हुने वैधानिक व्यवस्था गरिएको संघका अध्यक्ष विक्रम लामाले जानकारी दिए ।
त्यस्तै संघको केन्द्रीय परिषदमा ए, बि, सी डिभिजनका खेलाडीलाई पनि मनोनयन गर्न सकिने विधानमा उल्लेख गरिएको छ । यसअघि सिनियर र जुनियर राष्ट्रिय खेलाडीले मात्र संघको सदस्यता लिन पाउने वैधानिक व्यवस्था थियो । अब भने सबै खाले फुटबल खेलाडीले सदस्यता लिन पाउने वैधानिक व्यवस्था गरिएको छ । संघले एक महिनाको समय सिमा तोकेर नयाँ सदस्यलाई फारम भर्न आव्हान गरेको छ ।
संघले कार्यसमितिमा रिक्त रहेको पदाधिकारी र सदस्यको मनोनयन साधारण सभाले अनुमोदन गरेको छ । अन्जना राना मगर उपाध्यक्ष, अनन्त तामाङ महासचिव, रुपेश केसी, एरिक बिष्ट, अन्जन विष्टलाई सदस्य मनोनित भएका छन् ।
त्यस्तै संघले आफ्नो पूर्व दुई अध्यक्ष उपेन्द्रमान सिंह र राजेश मानन्धरलाई सम्मान गरेको छ । संघको साधारण सभाको उद्घाटन सत्रमा उनीहरूलाई सम्मान गरिएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ र संघका अध्यक्ष लामाले उनीहरुलाई सम्मान गरेका हुन् ।
एन्फा अध्यक्ष नेम्वाङले फुटबल खेलाडी संघ चलायमान रहेको र खेलाडीको हकहितका लागि क्रियाशील रहेको बताए । एक दशकसम्म संघको नेतृत्व गरेका सिंहले खेलाडीको खेल्न पाउने अधिकारका लागि संघले गरेको दबाबको प्रशंसा गरे। उनले खेलाडीका पक्षमा निर्णय गराउन संघले भूमिका खेल्नुलाई सकारात्मक कदम बताए ।
संघका अध्यक्ष लामाले खेलाडीलाई पर्न सक्ने समस्याको समाधानको पहलका लागि संघ सधैं क्रियाशील रहने वचन दिए । खेलाडी संघ एन्फाको सदस्य संस्था हो । संघको पछिल्लो निर्वाचन २०७९ मा भएको थियो।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)