
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली खेलकुद क्षेत्रमा वर्तमान सरकारले पर्याप्त ध्यान दिएको दाबी गरेका छन्। बुधबार बालुवाटारमा आयोजित एक कार्यक्रमका क्रममा बोल्दै प्रधानमन्त्री ओलीले अब खेलाडीहरू व्यवसायिक रुपमा खेलमै समर्पित भएर जीवन यापन गर्न सक्ने अवस्थामा पुगेको बताएका हुन्।
युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सम्मान गर्दै प्रधानमन्त्री ओलीले विगतको तुलनामा नेपाली खेलकुद क्षेत्रमा सकारात्मक रूपान्तरण आएको बताए।
"पहिला व्यवसायिक खेलाडी वा सम्पूर्ण रुपमा खेलमै समर्पित हुन सक्ने स्थिति थिएन, तर अहिले समर्पित खेलाडी बन्न सक्ने अवस्था निर्माण भएको छ," प्रधानमन्त्री ओलीले भने, "अब खेलाडीहरूले खेल खेलेरै बाँच्न सक्नेछन्।"
उनले नेपालमा खेलकुदलाई संगठित रूपमा अघि बढाउन थालेको धेरै समय नभएको स्मरण गराउँदै अन्य मुलुकहरूमा भने दशकौँ अघिदेखि खेल क्षेत्र व्यवस्थित हुँदै आएको उल्लेख गरे।
"हामीसँग पहिले जम्मा एउटा दशरथ रंगशाला मात्र थियो, अहिले खेल सुविधाहरू विस्तार भइरहेका छन्," ओलीले थपे, "क्रिकेट पनि ढिलो सुरु भए पनि आज विश्वमञ्चमा राम्रो प्रदर्शन गर्दैछ।"
कार्यक्रममा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय स्तरमा पदक जितेका खेलाडीहरू, प्रशिक्षक र व्यवस्थापकहरूलाई नगदसहित सम्मान गरेका थिए। उनले खेलकुद क्षेत्रमा सरकारको लगानी अझ बढाइने प्रतिबद्धता जनाउँदै युवाहरूलाई खेलतर्फ आकर्षित गराउने योजना सुनाए।
- नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने