
काठमाडौं । एएफसी एसियन कप छनौट प्रतियोगिताका खेल्ने तयारीमा रहेका दुई टोली नेपाल र हङ्गकङ्ग बीच बिहीबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।
हङ्गकङ्ग फुटबल स्टेडियममा भएको खेलमा दश खेलाडीमा सिमित बनेको १७५औं वरियताको नेपालले १५३औं वरियताको घरेलु टोलीसँग गोलरहित बराबरी खेलेको हो ।
खेलमा केही दबाब झेल्नुका बावजुद नेपालले पनि हङ्गकङ्ग विरुद्ध गोलको प्रयास र अवसर सृजना गरेको थियो । यद्यपि दुवै टोली गोल गर्न भने असफल रहे ।
उता खेलको अन्तिमतिर नेपाल केही समय दश खेलाडीमा समेत खुम्चिन पुग्यो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मणि लामाले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्दा इन्जुरी समयको केही मिनट नेपाल दश खेलाडीमा सिमित बनेको थियो । यद्यपि जुझारु नेपालले हङ्गकङ्गलाई उसकै घरमा बराबरीमा रोक्न सफल भयो ।
स्मरण रहोस, एएफसी एसियन कप छनौटतर्फ समूह एफमा रहेको नेपालले समूह चरणको आफ्नो दोस्रो खेलमा यही जुन १० तारीखका दिन लाओससँग उसकै घरमा खेल्ने कार्यक्रम छ ।